पोखरा, १६ पुस ।

२३ औं सडक महोत्सवमा स्थानीय प्रशासन र स्वास्थ्य संस्थासँगको सहकार्यमा स्वदेशी, विदेशी जो सुकैले कोभिड–१९ विरुद्धको खोप लगाउन पाउने व्यवस्था गरिएको छ । पाेखरा लेकसाइडमा बिहीबारबाट कोभिड खोप केन्द्र सञ्चालन गरिएको हो ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको व्यवस्थापनमा कोभिड–१९ बाट बच्न स्वास्थ्य मापदण्डको पूर्ण पालना गरिएको महोत्सव संयोजक नरेश भट्टराईले बताए । उनले भने, ‘महोत्सवस्थल ३ किलोमिटरभित्र ४/५ ठाउँमा हेल्थ डेस्क राखिएको छ, मास्क, सेनिटाइजर प्रयोग गर्न स्वयंसेवक खटाइएको छ, खोप नलगाएका जोसुकैले सजिलै खोप लगाउन पाउने व्यवस्था मिलाइएको छ ।’

महोत्सव क्षेत्रमै बिहान ११ बजेबाट ४ बजेसम्म एन्टिजेन टेस्ट गर्ने व्यवस्था गरिएको संयोजक भट्टराईले बताए । महोत्सव उद्घाटनको दिन ५९ जनाले जोन्सन एन्ड जोन्सनको खोप लगाएको डा. अर्जुन क्षेत्रीले जानकारी दिए ।  महोत्सव अवधिमा दैनिक ५ सय हाराहारीमा कोभिड–१९ विरुद्धको खोप लगाउन आउने अनुमान आयोजकको थियो ।

कोभिड–१९ केही कम भएको देखिएको तर जोखिम नहटेको अवस्थामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रेस्टुरेन्ट एन्ड बार एसोसिएसनले आयोजना गरेको महोत्सवमा कोभिडबाट बच्न सचेतनाका लागि नयाँ शैलीको उपयोग गरिएको हो । समाजसेवी एवं पयर्टन व्यवसायी गणाेशबहादुर भट्रराइले यस कदमले सकारात्मक सन्देश दिएकाे बताए । उनले महाेत्सवमा फरक फरक शैली अपनाउन सके पयर्टन क्षेत्रकाे विकास हुने धारणा उल्लेख गरेका छन । महाेत्सव गृहमन्त्री बालकृषण खाँडले उद्घाटन गरेका थिए ।