विकास सुवेदी

पोखरा, १२ पुस । नेपाल जुनियर रेडक्रस सर्कल उमा माध्यमिक विद्यालय दाङसिङ मोहरियामा अध्ययनरत विद्यार्थीले आर्थिक सहयोग गरेका छन ।
सर्कलमा आवद्ध विद्यार्थी तथा अभिभावकको सक्रियतामा अन्नपूर्ण फूलिवाङका लालबहादुर विक र अन्नपूर्ण ८ दाङसिंङका विवेक विकलाई आर्थिक सहयोग गरिएको हो । लालबहादुरलको काठ चिर्ने मेसिनमा पर्दा ४ वटा औंला गुमाउन पुगेका थिए भने विवेकको दुवै खुट्टा अगेनामा परेर जल्न पुगेको थियो ।
उनीहरुलाई जनही १५ हजारका दरले सहयोग गरिएको जुनियर रेडक्रस सर्कलले जनाएको छ । सर्कलकी अध्यक्ष सुनीता गुरुङको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण सभामा जुनियर रेडक्रस सर्कलका शिक्षक नायक टीकाराम आचार्यले सञ्चालन गरेका थिए । विद्यालय व्यवस्थापन समितिका भिमबहादुर गुरुङ, निर्मला गुरुङ, डिलबहादुर परियारको सहभागितामा कार्यक्रम भएको विद्यालयका शिक्षक भोजराज चापागाँईले जानकारी दिए ।
उमा माविमा अध्ययनरत विद्यार्थीले आर्थिक संकलन गरि सेवा गरेकोमा खुसी व्यक्त गर्दै विद्यालयका सहfयक प्रअ रमेश क्षेत्रीले यस्ता सेवामुलक कार्यमा विद्यार्थीको मन जानु विद्यालयकै गौरव भएको बताए ।
सर्कलकी शिक्षक नायिका शोभावती बरालले रेडक्रसको आदर्श र सिद्धान्त वाचन गरेकी थिइन । सभामा उमा माविका शिक्षक भोजराज चापागाँईले आफ्नो जन्म दिनको अवसरसमेत परेको भन्दै कक्षा १ देखि ७ सम्म अध्ययनरत विपन्न विद्यार्थीलाई १० जोर न्यानो जुत्ता वितरण गरेको शिक्षक बरालले जानकारी दिइन् ।