पोखरा, ४ पुस ।
पोखरा ११ स्थित फूलबारी क्लबले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ज्येष्ठ नागरिकलाई वनभोज कार्यक्रम एवं धार्मिक क्षेत्र अवलोकन गराउँदै सम्मान गरेको हो । पोखरा २२ स्थित पुम्दीकोटमा उनीहरुलाई सम्मान गरिएको थियो ।
पोखरा ११ का वडा अध्यक्ष मोहनप्रसाद वास्तोलाको प्रमुख आतिथ्यतामा भएको सभामा क्लबका आजीवन सदस्यका ६० वर्ष उमेर कटेका १ सय ३० जना मातापितालाई भोजन गराउँदै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
फूलबारी क्लबका अध्यक्ष हरिश्चन्द्र वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ११ फूलबारी निवासी समाजसेवी गंगाधर बास्तोला र उहाँकी धर्मपत्नी पार्वती वास्तोलाले क्लबको कार्यालयलाई १ थान प्रिन्टरसमेत हस्तान्तरण गरेका थिए ।
सम्मान कार्यक्रममा पोखरा २२ का अध्यक्ष मित्रलाल बराल, क्लबका निर्वतमान अध्यक्ष हरिप्रसाद बास्तोला, सल्लाहकार अधिवक्ता दीपक बास्तोला, क्लबका सचिव जनार्दन वास्तोला लगायतले बोलेका थिए । क्लबका उपाध्यक्ष मनोज बास्तोलाको स्वागत मन्तव्यमा सुरु भएको कार्यक्रममा कार्यक्रम संयोजक युवराज बास्तोला गान्धीले कार्यकमबारे जानकारी दिएका थिए ।