पोखरा, २ कात्तिक ।

पोखरा २७ की बिना बिकको मृत्युलाई लिएर घटनाको यथार्थ बाहिर ल्याउन माग गरिएको छ ।

विना विकले अन्तरजातीय विवाह गरेकी थिइन । स्थानीय सन्तोष कुमालको घर परिवारले विनालाई स्वीकार नगरेको नेपाल दलित मुक्ति मोर्चाले उल्लेख गरेको छ ।

मंगलबार एक विज्ञप्तिमार्फत संगठनको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै घटनाको बास्तविकता वाहिर ल्याउन स्थानीय सरोकार राख्नेसँग अनुरोध गरेको छ ।

मोर्चाका संयोजक भिमबहादुर बि.क. क्षितिजद्वारा हस्ताक्षरित विज्ञप्तिमा पीडितलाई न्याय दिलाउन मागसमेत गरिएको छ ।

यस्तै भरतपुर महानगरपालिका ४ चितवनका ५८ वर्षीय भीमबहादुर विश्वकर्मामाथि स्थानीय दुर्गा मन्दिरमा भएको घटनाको निन्दासमेत गरिएको छ ।

पूजा गर्न पाउनु पर्ने माग गर्दा सामान्य विवाद भई कुटपिटमा परिणत भएको घटनामा नेपाल दलित मुक्ति मोर्चा गण्डकी प्रदेशले आपत्ति जनाउँदै अमानवीय कार्य गर्नेलाई कारवाहीको माग गरिएको छ ।

मन्दिरमा बोकाको बली दिन पाउने कि नपाउने ? भन्ने विवादमा स्थानीय सीताराम बस्नेत लगायतसँग भनाभन भएको विज्ञप्तिमा उल्लेख छ । भीम विकलाई उक्त क्षेत्रमा कुटपिट भएको मोर्चाले जनाएको छ । पीडित भीम विकलाई उपचार गर्न चितवन मेडिकल कलेजमा लैजादै गर्दा डाक्टरले मृत्यू घोषणा गरेको मोर्चाले उल्लेख गरेको छ ।