कास्कीको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको जिप दुर्घटना हुँदा आठ जनाको निधन भएको छ ।
ग १ ज ६९०० नम्बरको बोलेरो जीप कच्ची सडकबाट अन्दाजी २ सय मिटर तल खस्दा जीपमा सवार आठ जनाको निधन भएको हो ।
जीप दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना काठमाडौंबाट घान्द्रुक घुम्न आएका विद्यार्थी रहेको खुलेको छ ।
अर्का मृतक भने जीप चालक कास्की अन्नपूर्ण गाउँपालिकाका वासिन्दा हुन् । दशैं विदामा पोखरा घुम्न आएका काठमाडौं महानगरपालिका- ३ गोंगबुका विद्यार्थी र उनीहरुलाई लिएर घान्द्रुक जाँदै गरेका जिपचालक दुर्घटनामा परेका हुन् ।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार दुर्घटनामा मृत्यु हुने जीप चालक अन्नपूर्ण गाउँपालिका- ५ का ४२ वर्षीय खुसीमान क्षेत्री छन् । यस्तै काठमाडौंबाट घुम्न जाँदै गरेका गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुन चौधरीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी सँगै घुम्न जाँदै गरेका २२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले छन् । गोरखा घर भइ गोंगबु बस्ने २७ वर्षीय विनय क्षेत्रीको पनि निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते २० वर्षीय देवीका घिसिङको सकुशल उद्धार गरिएको प्रदेश प्रहरी कार्यालयका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।