नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिएका छन्।

प्रधानमन्त्री पदबाट अदालतले हटाएका ओलीसँग प्रचण्ड अझै पनि रुष्ट नै देखिएका हुन्। उनले आफ्नो पार्टी र आफूसँग धोका दिएका कारण ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएको दाबी गरे। उनले फेरि पनि चलखेल गरे ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने पनि चेतावनी दिए।

शनिबार पश्चिम नवलपरासी पुगेका उनले भनेका छन्,‘ओलीको घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुम्यो। २ र ४ दिनमा बागमती र प्रदेश १ बाट पनि बाहिरिंदै छ। अब पनि चलखेल गर्न खोजे राजनीतिबाटै बाहिर गर्दिन्छु।’

उनले हिन्दीमा भाषण गर्दै मधेसी जनताको अधिकारका लागि आफू संघर्षरत रहेको पनि बताए। उनले भनेका छन्,‘मधेसी जनता मेरा प्रेमिका हुन्। कहिले काहीं भिलेन आएर प्रेमलाई तोड्न खोज्छन्। तर म निरन्तर तपाईंहरुकै अधिकारका लागि लडिरहेको छु।’

मधेसको प्रमुख समस्या नागरिकता रहेको बताउँदै उनले त्यो समस्या केही हप्तामै समाधान हुने आश्वासन दिए। उनले तराई मधेसको अर्को समस्या सुकुम्बासी र भूमिहीन समस्या रहेकाले त्यसको समाधानका लागि जिल्लातहमा आयोग गठन गरेर चुनाव अघि पूर्जा वितरण गर्ने बताए।