काठमाडौं । नेपाली चलचित्र उद्योगमा ‘को महानायक’ भन्ने विवाद अझै टुंगिएको छैन।

केहि समयअघि कलाकार दीपाश्री निरौलाले राजेश हमाललाई महानायक भन्न नमिल्ने बताएपछि त्यसले ठूलो बहस निम्त्याएको थियो।

हालै फिल्म निर्देशक शोभित बस्नेतले महानायक राजेश हमाललाई सुपरस्टार भनेपछि फेरि यो बिषयले विवाद निम्त्याएको थियो।

शोभितले भुवन केसीलाई नेपाली चलचित्र क्षेत्रको ‘महानायक’ भएको बताएपछि हमालका शुभचिन्तकहरु आलोचनामा उत्रिएका थिए।

आइतबार ‘डाँडाको वरपीपल’को ट्रेलर रिलिज कार्यक्रममा शोभितले माफी माग्दै नेपाली चलचित्र क्षेत्रको ‘महानायक’ राजेश हमाल नै भएको बताएका छन्।

राजेश हमालको फोटोलाई प्रमुख अतिथी बनाएर निर्देशक बस्नेतले उनी नै महानायक भएको स्वीकार गरे।

राजेश हमाललाई दिइएको ‘महानायक’ उपाधिमाथि प्रश्न गर्दै आएका निर्देशक बस्नेतले हमाललाई महानायक नै स्वीकारेका हुन।

उनले भने ‘महानायक भन्दा सुपरस्टार ठूलो भन्ने ठान्थेँ। यसैले, चलचित्र क्षेत्रमा राजेश हमाल भन्दा ठूलो कोही पनि छैन भनेर उहाँलाई सुपरस्टार भनेको हुँ। तर, म गलत रहेछु। यसैले, सबैसँग माफी माग्दै आजबाट हरेक ठाउँमा राजेश हमाललाई नै महानायक भन्नेछु। मेरो लागि अब सुपरस्टार भुवन केसी हुनुहुन्छ।’

काठमाडौं र चित्लाङ आसपासका रमणीय स्थानमा छायांकन गरिएको फिल्म ‘डाँडाको वरपीपल’ यही असोज २६ गते दशैंको अवसर पारेर रिलिज हुँदैछ।