सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि बाढी आएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलामा पानीको सतह बढेपछि बजार क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
शनिबार रातिदेखि भारी वर्षा भइरहेकोले मेलम्ची खोला र इन्द्रावती नदीको बहाव बढ्दो क्रममा रहेको छ। बहाव एक्कासी बढेपछि साइरन बजाएर तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको छ।
स्थानीय बासिन्दाका अनुसार तिम्बुमाथि ठूलो पहिरो गएर असार १ गतेजस्तै खोलाले काठ र लेदो बगाएर ल्याएको थियो। यस्तै, बाढीले भत्किएको इन्द्रावती पुलको आधा टुक्रा बगाए ५०/६० मिटर तल ल्याइपुर्याएको छ।
बाढीले केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको छ। तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सरेको छ।
हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान गरिएको प्रहरीले बताएको छ । चनौटे बजारको बीच भागबाटै पानी बगेको छ ।
यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्षति पु¥याएको थियो । बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।