ऋषिङः नेपाल रेडक्रस सोसाइटीले बाढी पहिरोबाट घर भत्केर विस्थापित ऋषिङको ऐरिचौपारीका २२ घर परिवारलाई त्रिपाल, कम्बल, भाँडाकुँडा तथा कपडा सहयोग गरेको छ ।

सभापति कृष्णहरि वाग्लेको नेतृत्वमा गएको टोलीले पूर्ण रुपमा घर भत्किएका १२ तथा आंशिक रुपमा भत्किएका १० परिवारलाई सहयोग वितरण गरेको सोसाइटीका उप सभापति ऋषिराम पोख्रेलले जानकारी दिए ।

सोसाइटी कोटदरबार उपशाखाको सक्रियतामा पीडितलाई राहत वितरण गरिएको सभापति ईन्द्र आलेले बताए । कार्यक्रममा कांग्रेस जिल्ला सदस्य मोहन गिरीले पनि सक्रिय सहभागीता जनाएका थिए ।

बजार एकाईको लत्ताकपडा र आर्थिक सहयोग
तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईले सबै घरका परिवारलाई लत्ताकपडा तथा खाद्यसामग्री सहयोग गरेको सभापति भुपाल आलेले जानकारी दिए ।

एकाईले घर भत्किएका दुई परिवारलाई सात हजार पाँच सयका दरले १५ हजार रुपैयाँ सहयोग समेत गरेको उनले जानकारी दिए ।