गण्डकी प्रदेशका विना विभागीय मन्त्री दिपक मनाङ्गे (राजिब गुरुङ) ले आज युवा मन्त्रीको रुपमा कार्यभार सम्हालेका छन्।

गृहमन्त्रालय र भौतिक योजना मन्त्रालयको दाबी गर्दै आएका मनाङ्गेले तीन महिनामा तेस्रो पटक सो मन्त्रालय सम्मालेका हुन् ।
इज्जत बचाउनुपर्छ भनेर भौतिक मन्त्रालयको दाबी छोडेको मनाङेको भनाइ थियो। ‘पैसा खान ठूलो मन्त्रालय मागेजस्तो देखियो,’ उनले भने, ‘इज्जत बचाउनुपर्छ भनेर छोडेको । भोलि यही कुरालाई एक्सपोज गर्दिए सकिन्छौँ ।’ उनले संसद विघटन हुन नदिन पृथ्वीसुब्बा गुरुङको साथ छोडेको पनि दोहो¥याए । कार्यभार सम्हाल्दै मनाङ्गेले निर्वमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रशंसा पनि गरे ।

‘पृथ्वी सुब्बा दाइले एकदम चेक एण्ड ब्यालेन्स गर्थ्यो । विज्ञसँग सोध्थ्यो,’ उनले भने, ‘ठूलो नेतालाई गएर तपाईँको मान्छेले सरकार चलाउन सक्दैन, डिस्टर्ब गर्न भएन भनेको हो ।’

निवर्तमान मुख्यमन्त्रीको प्रशंसा गरेका उनले आफनो सरकारप्रति भने असन्तुष्टि व्यक्त गरे । सरकार बनेको एक महिनासम्म पनि पूर्णता दिन नसकेकोमा मनाङे असन्तुष्ट सुनिएका हुन् ।

‘केन्द्रको समस्याले गर्दा प्रदेशमा खेल खेल्दियो। कांग्रेसले कहिले पनि पृथ्वीसुब्बाको प्रोजेक्टमा हुँदैन भनेकै छैन,’ मनाङेले भने, ‘सरकार बनेको एक महिना हुन लागिसक्यो, अझै समस्या छ ।’

आज बिना विभागीय दुई मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाए पनि सरकारले पूर्णता पाउन भने अझै सकेको छैन। ११ मन्त्रालय रहेको प्रदेशमा ४ मन्त्रीको जिम्मेवारी छिनोफानो लागेको हो ।

अझै सात वटा मन्त्रालयको टुंगो लगाउन बाँकी नै छ । प्रदेशमा एक मन्त्रालय थपेर १२ मन्त्रालय पु¥याउने सम्भावना पनि कायमै छ । मन्त्रीका आकांक्षी धेरै भएकाले थप एक मन्त्रालय बढाउन खोजिएको हो । प्रदेशको बजेट पारित भएपछि मुख्यमन्त्रीले सरकारलाई पूर्णता दिलाउने बताउँदै आएका छन् ।

जनता समाजवादीबाट मन्त्री बनेका हरिशरण आचार्यले ऊर्जा, जलश्रोत तथा सिचाँई मन्त्रालयको कार्यभार सम्हालेका छन् ।

गत २९ जेठमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको नेतृत्वमा बनेको सरकारमा पोखरेलसहित चार जनाले विभागीय जिम्मेवारी बिना नै मन्त्रीको शपथ लिएका थिए । यी मध्ये २ जनाले असार १३ गते मन्त्रालयको जिम्मा सम्हालेका थिए । कांग्रेसका कुमार खड्काले सामाजिक विकास मन्त्रालय र नेकपा (माओवादी)बाट मधुमाया अधिकारी गुरुङले स्वास्थ्य मन्त्रालयको कार्यभार लिएका थिए।