खोला किनारमा १० धुर ऐलानी जमिन । त्यही जमिनमा बाँसका भाटाले पुराना जस्ता चेपेर बनाएको छानो । घरको बेरा पनि जस्ताकै । घरभित्रबाट आकाशतिर हेर्दा तारामण्डल गन्न सकिने अवस्था ।

दिनभरि झापाको बिरिङ खोलाको गिटी, बालुवासँग पौठेजोरी खेल्नुपर्ने बाध्यता । आफूलगायत श्रीमती र दुई जना नाबालकको पेट भर्नका लागि झापाको अर्जुनधारा नगरपालिका–१ का ३१ वर्षीय ललित दर्जीले निरन्तर गर्दै आएको सङ्घर्षको कथा हो, यो ।

पैतृक सम्पत्तीको नाममा उनको फुटेको कौडी पनि थिएन । उनी बिरिङ खोलामा गिटी निकाल्ने र त्यसलाई बिक्री गरेर आफूसहित चार जनाको जीविकोपार्जन गर्दै आएका थिए ।

त्यो उनको १० वर्षदेखिको दैनिकी थियो । सरकारले हरेक वर्षको असार १ गतेदेखि तीन महिनाका लागि खोलाजन्य सामग्री सङ्कलन, बिक्री-वितरण र ओसारपसारमा प्रतिबन्ध लगाउँछ ।

उनीहरूकै भाषामा ‘खोला बन्द’ भएपछि उनी केही समय अर्काे काम खोज्न थाले । परिवारको पेट भर्नको लागि उनीमाथि अर्काे काम खोज्नुपर्ने बाध्यता थियो ।

त्यसैक्रममा गाउँकै एकजना ठेकेदारले घरभन्दा १५ किलोमिटर दक्षिणमा पर्ने घैलाडुब्बामा नदी तटबन्धन गर्न ठेक्का दिएको र ढुङगा हालेर जाली भर्न श्रमिक आवश्यक परेको सूचना पाए ललितले ।

उनीसहितका १२ जना युवा जेठ २७ गते घैलाडुब्बातर्फ लागे । कोरोना सङ्क्रमणको भयावह अवस्था त छँदै थियो । उनीहरू घैलाडुब्बामै बसेर जाली भर्न सुरु गरे । यसबीचमा उनले केही पैसा घरमा पठाएको श्रीमती बालकुमारीले बताइन् । त्यो पैसाले दैनिक उपभोग्य सामग्री खरिद गरेको जानकारी उनले दिइन् ।

परालले छापेको घर थियो । गत माघमा बालकुमारी र ललितले सल्लाह गरे–सहकारीसँग अलिकती पैसा ऋण लिएर घरमा जस्ता लगाउने । बालकुमारीले गाउँका महिलाहरूसँग सल्लाह गरिन् । उनीहरूले आफूसँगै मिलेर समूह बनाए सहकारीले ऋण दिने प्रक्रियाको बारेमा सुनाए । उनलाई त्यो सहज लाग्यो, नलागोस् पनि कसरी ? बैङ्कमा धितो राखेर ऋण लिनसक्ने उनीहरूको अवस्था थिएन ।

बालकुमारी समूहमा प्रवेश गरिन् । फागुन महिनामा सहकारीले उनलाई समूह जमानतमा ७४ हजार हाराहारी ऋण दियो । तर, ७५ हजारमा सही गरायो । उनले त्यो पैसा ल्याएर पुराना जस्ता खरिद गरिन् ।

केटिएम दैनिक ले तयार पारेको यो स्टोरी पुरा पढ्न यहाँ क्लिक गर्नुहोस्