‘लागुऔषधरहित परिवार, स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस शनिबार टीकापुरमा मनाइएको छ ।
लागु औषधको कुलतमा परेर हाल टीकापुरमा सञ्चालित पुनःस्थापना गृहमा बसेर स्वास्थ्य उपचार गराइरहेका युवाहरुको सहभागितामा भएको कार्यक्रम नयाँ विहानी पुनःस्थापना केन्द्रदेखि अस्पताल लाइनस्थित खडकचौकसम्म ¥याली गरेर कोणसभा भएको थियो ।
सभालाई सम्वोधन गर्ने वक्ताहरुले टीकापुरमा लागुऔषध प्रयोगकर्ता बढ्दै जानु चिन्ताको विषय भएको र यसको समाधानका लागि सरकार, अभिभावक र युवाहरु जाग्नुपर्ने बताएका छन् ।
कार्यक्रममा नयाँ विहानी पुनःस्थापना केन्द्रका सञ्चालक कल्पेश कुवरले टीकापुरमा पुनःस्थापना केन्द्रहरु खुल्दै जानु एक अर्थमा दुखद् कुरा हो भन्दै लागुपदार्थ प्रयोगकर्तालाई रोगीको रुपमा लिएर सुधार गर्नुपर्ने तर विक्री वितरणलाई रोक्नुपर्ने बताउनुहुन्छ । शुरुमा अरुको लहलहैमा खान थालेको युवा पछि त्यही चिज किन्नका विक्रेता बन्न थालेका बताउदै समाजले साथ दियो भने टीकापुरको गल्लीगल्लीमा लागूपदार्थ बेच्नेलाई सार्वजनिक गरिदिने बताउनुभयो । सहारा पुनःस्थापना केन्द्रका कार्यक्रम सञ्चालक सौरभ रावलले प्रयोगकर्तालाई रोगीका रुपमा उपचार गर्नुपर्ने र रोकथामकालागि सबैजनाले हातेमालो गरेर टीकापुरलाई नसारहित क्षेत्र बनाउन सकिने बताउनुभयो । यस्तै आशा किरण पुनःस्थापना केन्द्रका सञ्चालक खकेन्द्र उपाध्यायले ड्रग्सले जीवन अस्तव्यस्त र प्रगतिको बाधक भएकाले यसबाट  निस्कन सकेमात्रै नसाविना पनि जीउन र रमाउन सकिन्छ भन्ने महसुस हुने बताउनुभयो ।
कार्यक्रमका वक्ता राजु विष्टले युवाको सक्रियताले समाज रुपान्तरण गर्न सकिने र युवाको प्रयत्नले ड्रग्सलाई हराउन सकिने विश्वास व्यक्त गर्नुभयो । युवा लक्ष्मण थापाले लागुऔषधले टीकापुर बदनाम भएकाले यसको रोकथाम घरबाटै सुरुवात गर्न सुझाव दिनुभयो ।
अर्का युवा लोकबहादुर बुढा क्षेत्रीले लागुऔषधले सबै उमेरका मानिसलाई प्रभाव पारिरहेकाले नाकामै रोक्नुपर्ने सुझाव दिनुभयो । टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले लागु पदार्थ कारोवारीलाई बहिष्कार गर्नुपर्ने बताउनुभयो । भूपेन्द्र साउदको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भक्तराज देवकोटाले गर्नुभएको थियो ।