पोखरामा विषालु च्याउ खाँदा आठ जना बिरामी भएका छन् । हिजो राति पाैने ११ बजे कास्कीको पोखरा महानगरपालिका ३३ पुँडीका एकै घरका छ जना र स्वाँराका एकै घरका दुई जनाले वनबाट ल्याएकाे नाम नखुलेको च्याउ खाएका थिए ।

च्याउ खाएपछि उनीहरु सबै बिरामी भइ बेहोस भएकाे प्रहरीले जनाएकाे छ । बिरामी हुनेमा पुँडी बस्ने ४५ वर्षीय गोठे पुन, उहाँको ४० वर्षीय श्रीमती लिला पुन, उनीहरुको १३ वर्षीय छोरा पूर्ण पुन, उनको वर्ष १० वर्षीया छोरी बिनिता पुन, अर्की ८ वर्षीया छोरी अस्मिता पुन र सानी ६ वर्षीया छोरी माया पुन रहेकी छिन् ।

यस्तै स्वाँरा बस्ने ५५ वर्षीय भिम बहादुर पुन र उहाँको श्रीमती ५२ वर्षीया गौमाया पुन पनि बिरामी परेका हुन् । बिरामी भएका सबै जनालाई पोखरा स्थित पश्चिमाञ्चल अस्पतालमा लगिएको थियो ।

उनीहरुले सोही ठाँउको धारापानी सामुदायिक वनबाट नाम नखुलेको च्याउ ल्याएर खाएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

सबै बिरामीहरुको अवस्था मध्यम रहेको र घटना बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।