कैलालीमा लकडाउन खुकुलो भएसँगै कैलालीका सरकारी कार्यालयले पनि सेवा सुचारु गरेका छन् । कैलालीमा लकडाउन खुकुलो बनाउनुका साथै जिल्लाभरिका सरकारी कार्यालय तथा स्थानीय तहमा काम सुचारु गरिएको हो ।
कैलालीका टीकापुरस्थित ईलाका प्रशासन, मालपोत, नापी, टीकापुर अस्पताल लगायतका सरकारी कार्यालय तथा संस्थाहरुले सेवा सुचारु गरेका छन् ।
वैशाख १६ गतेदेखि भएको लकडाउनसँगै सेवा बन्द गरेका टीकापुरका सरकारी कार्यालयले असार ८ गते मङ्गलबारदेखि सेवा सूचारु गरेका हुन् । टीकापुरस्थित नापी कार्यालयका प्रमुख विमलबहादुर सिंह सबै दिन कार्यालय खुला राख्ने निणर्य भएको बताउनुहुन्छ । ‘‘हाम्रो कार्यालयमा ९ फाँट छन्, अलगअगल झ्याल छन्, खासै भीडभाड हुँदैन’’, सिंहले भन्नुभयो, ‘‘त्यसैले हामीले दुरी कायम गरेर, स्वास्थ्यका मापदण्ड पूरा गरेर सबै दिन खुला गरेका छौँ ।’’
नापी जस्तै मालपोत कार्यालय टीकापुरले पनि लामो समयदेखि बन्दका कारण सेवा नपाउका नागरिकको राहतका लागि बार तोकेर आफ्नो सेवा सूचारु गरेको छ । मालपोत कार्यालय टीकापुरले बार अनुसार सेवा सूचारु गरेको कार्यालयका कर्मचारी प्रेमप्रकाश सिंह बताउनुहुन्छ । ‘‘आइतबार, सोमबार साविक टीकापुर नगरपालिका, जानकीनगर, मौरनीया, सिम्री, सिमराना र सुगरखाल गाविसका नागरिकले सेवा पाउनेछन् । मंगलबार, बुधबार, बलिया गाविस, दुर्गौली, महादेउली, नवलपुर, मनिकापुर, लालपुरबाडीका नागरिकले सेवा पाउने व्यवस्था मिलाइएको छ’’, सिंह भन्नुहुन्छ, ‘‘त्यस्तै, बिहीबार र शुक्रबार दुई दिन साविकको चुहा, दोदोधरा, नारायणपुर, धनसिंहपुर, प्रतापपुर र मुद्दी गाविसका नागरिकले सेवा पाउनेछन् ।’’
मालपोत कार्यालयमा बढी भीड हुने भएकाले यसरी बारअनुसार सेवा लिन थालिएको हो । कार्यालयले बारअनुसार सेवा लिन आउन सूचना समेत गरेको छ ।
कोरोना संक्रमित बिरामी बढेपछि वैशाख १६ गतेदेखि ओपिडी सेवा बन्द गरेको टीकापुर अस्पतालले पनि मङ्गलबार बाट सबै सेवा सुचारु गरेको छ । प्रशासनले लकडाउन खुकुलो पारेको र उपचार गर्न आउने कोरोनाका बिरामी पनि कम भएकाले अस्पतालले प्रदान गर्ने सबै सेवा सूचारु गरेको टीकापुर अस्पतालका निमित्त प्रमुख डाक्टर रेमकुमार राई बताउनुहुन्छ । ‘‘त्यो समयमा कोरोनाका बिरामी बढी थिए, हामीले कोरोनाका बिरामीको उपचार गर्नुपर्ने भएकाले जोखिम कम गर्न ओपिडी सेवा बन्द गरेका थियाँै’’, डाक्टर राई भन्नुहुन्छ, ‘‘हाल संक्रमित बिरामी समेत घट्दै गएका छन् । अब सेवा पनि सुचारु गरेका छौँ ।’’
ईलाका प्रशासन कार्यालय टीकापुरले पनि वैशाख १६ गतेदेखि बन्द गरिएका सबै सेवा सुचारु गरेको छ । आफ्नो सेवा क्षेत्रभित्र रहेका स्थानीय तहलाई बारअनुसार सेवा प्रदान गर्ने गरी तालिका बनाईएको ईलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख मोहनराज जोशी बताउनुहुन्छ । ‘‘हामीले ५ स्थानीय तहलाई सेवा दिन्छौँ, भीड बढी नहोस् भनी यी स्थानीय तहलाई बारअनुसार सेवा दिनेछौँ’’, जोशी भन्नुहुन्छ, ‘‘आइतबार भजनी नगरपालिका र जानकी गाउँपालिका, सोमबार टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिका, मंङ्गलबार लम्कीचुहा नगरपालिका, बुधबार टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिका, बिहीबार लम्कीचुहा नगरपालिका, शुक्रबार भजनी नगरपालिका र जानकी गाउँपालिकालाई सेवा दिने व्यवस्था मिलाइएको छ ।’’
कार्यालय सञ्चालन भई सेवा सुचारु भए पनि कोरोना संक्रमण देखिने बिरामी आइरहेकाले कार्यालयमा सेवा लिदा सेवाग्राही र सेवा प्रदायक दुबैले स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने चिकित्सकको सुझाव छ ।