लगातार परेको वर्षाका कारण आएको पहिरोले कास्कीको अन्नपूर्णमा दुई घर बगाएको छ । पहिरोका कारण थप दुई घर जोखिममा रहेको कास्की प्रहरीले जनाएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकको पन्चेमा माथिबाट आएको पहिरोले चितकुमारी गुरुङ र छवि थापाको घर पहिरोले लगेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

पहिरोले टिनले छाएका उक्त दुई घरहरू लछारेर २० मिटर तल पुर्याउदा पूर्ण रूपमा क्षति भएको डिएसपी हमालले बताउनुभयो । डिएसपी हमालका अनुसार पहिरोबाट गुरुङको घरमा ९ लाख तथा थापाको घरमा ४ लाख बराबरको क्षति भएको छ ।

त्यस्तै उक्त पहिरोका कारण कल्पना परियार र मनमुजा परियारको घर जोखिममा रहेको डिएसपी हमालले जानकारी दिनुभयो ।

पहिरोपछि गुरुङको पाँच जनाको परिवार, थापाको ४ जनाको परिवार, कल्पनाको ३ जनाको परिवार र मनमुजाको ४ जनाको परिवार नजिकैको साकुरा होटलमा गई बसेको प्रहरीले जनाएको छ ।