काठमाडौँ । केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परेर मुलुकका विभिन्न जिल्लामा तीन जनाको मृत्यु भएको छ । अन्य ११ जना बेपत्ता भएका छन् । सातजना घाइते भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख दिलकुमार तामाङले बाजुरा, पाल्पा र सिन्धुपाल्चोकमा एक÷एकजनाको मृत्यु भएको जानकारी दिए । सिन्धुपाल्चोकमा सात जना हराइरहेका छन् । गत वर्ष पनि सिन्धुपाल्चोकमा पहिरोले ठूलो जनधनको क्षति भएको थियो । यस्तै सल्यान, बाजुरा, गोरखा, जाजरकोटमा पनि मानिस हराइरहेको उनले बताए । अन्य विवरण सङ्कलन जारी रहेको केन्द्रले जनाएको छ ।
उनका अनुसार सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रबाट बुधबारसेनाको हेलिकप्टरमार्फत २६ जनाको उद्धार गरिएको छ ।
त्यस क्षेत्रका लागि एक ट्रक राहत सामग्री काठमाडौँबाट पठाइसकिएको तामाङले जानकारी दिए । अब मनाङका लागि हेलिकप्टरबाट राहत पठाउने तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ । त्यहाँ बाढीका कारण जोखिममा रहेका ५०० जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।
नेपालमा जेठ २८ गतेदेखि मनसुन प्रवेश गरेको छ । त्यसयता लगातार पानी पर्दै आएको छ । यस वर्ष औषतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ ।

मेलम्चीमा एकको शव फेला
सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीमा परी बेपत्ता भएकामध्ये एक जनाको पुरुषको शव फेला परेको छ । शवको सनाखत भने हुन नसकेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।
उनका अनुसार हालसम्म सात जना बेपत्ता भएका छन् । बेपत्तामध्ये एक जनाको शव फेला परेपनि अन्य ६ जनाको खोजी कार्यजारी रहेको उनले बताए । बेपत्ता भएकाहरू कुन क्षेत्रमा काम गर्थे र कसरी हराए भन्ने जानकारी नभएकाले अहिले नै केही भन्न सक्ने अवस्था नरहेको उनले बताए ।

बाढीमा फसेका तीन जना नेपाली र तीन जना चिनियाँ नागरिकलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी ललितपुरको बी एण्ड बी अस्पतालमा लगिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।
हालसम्म बाढीमा फसेका ४५ जना नेपाली र विदेशी नागरिकको उद्धार भइसकेको पनि खनालले बताए ।
बाढीले आसपासका वस्तीहरु बगाएको र मंगलबार रातिदेखि विद्युत सेवा पनि अवरुद्ध भएको छ । उक्त क्षेत्रमा बाढीका कारण भएको क्षतिको पूर्ण विवरण आउन नसकेको सहायक प्रजिअ खनालले बताए ।
बाढीका कारण इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिका जोड्ने पक्की पुल भत्किएर सडक अवरुद्ध भएको छ । उक्त पुल नजिकैको अर्को पक्की पुल र गेट पनि भत्किएको जानकारी आएको उनले बताए । निरन्तर पानी परिरहेकाले क्षतिको पूर्ण विवरण संकलन गर्न समस्या भएको उनको भनाइ छ ।