पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहले आफ्नो स्वास्थ्यलाई लिएर चासो र चिन्ता लिने सबैलाई धन्‍यवाद दिएका छन् ।

सामाजिक सञ्‍जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले भनेका छन्, ‘हाम्रो स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिनुहुने देशभित्र र बाहिर रहेका सबै नेपालीहरुप्रति हामी आभार व्‍यक्त गर्दछौं ।’

पूर्वराजा शाहले महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्तालाई समेतलाई धन्यवाद दिएका छन् । उनले आफूहरु पूर्ण स्वास्थ्य लाभ लिइरहेको र देश बाहिर र भित्रको अवस्थाप्रति निकै चिन्तित रहेको बताएका छन् ।