काठमाडौँ, २० जेठ । सन् २०२२ मा हुने कतार विश्वकप तथा एसियन कप २०२३ को छनोट चरणअन्तर्गत नेपालले दोस्रो जित निकालेको छ । बिहीबार नेपालले चाइनिज ताइपेईलाई २-० गोलले हराएको हो ।

कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा नेपाललाई जिताउन अञ्जन विष्ट र नवयुग श्रेष्ठले समान एक–एक गोल गरे । खेलको तेस्रो मिनेटमा नेपालले पेनाल्टीको मौका पाएको थियो ।

सन्तोष तामाङको फ्रिकिकमा ताइपेईका खेलाडी चेङ हाउले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा अञ्जनले सहजै गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाए । खेलको ८१औँ मिनेटमा सुमन अर्यालको पासमा नवयुगले गोल गर्दै नेपाललाई २–० गोलको जित दिलाए ।

यस जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ । नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ । नेपालको ६ खेलमा ६ अंक रहेको छ । पुछारमा रहेको ताइपेइ अंकविहीन छ ।