सिन्धुली : स्वास्थ्यमा समस्या आएपछि एक सय वर्षकी इन्दिराकुमारी थापा एक साता घरमै आइसोलेसनमा बसिन्। सुधार नभएपछि जेठ १३ गते बिहीबार कोभिड अस्पतालमा भर्ना गरियो। कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आयो। तर, उनले आत्मबललाई कमजोर हुन दिइनन्। त्यसको परिणाम स्वरूप एक सातामै निको भएर उनी कमलामाई नगरपालिका–६ स्थित घर फर्किएकी छन्।
‘स्वास्थ्य सुरक्षामा परिवारले गरेको व्यवस्थापन, समयमा अस्पताल भर्ना र डाक्टरहरूको अथक मेहनत तथा वृद्धा आमाको दृढ आत्मबलका कारण सजिलै कोरोना भाइरसको दोस्रो भेरियन्टलाई जित्नुभयो’, सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले भने, ‘हामी अत्यन्तै खुसी भएका छौं। हाम्रा डाक्टर तथा नर्सहरूमा थप आत्मबल र हौसला प्राप्त भएको छ।’
समयमा उपचार पाए, खानपान व्यवस्थापन गर्न सके, दर्बिलो आत्मबल बनाए सहजै कोरोनालाई परास्त गर्न सकिने अध्यक्ष पोखरेलको भनाइ छ। उनका अनुसार उमेरले खासै प्रभाव नपार्ने प्रस्ट भएको छ।
वृद्धा थापाले निको भएर अस्पतालबाट घर फर्किन पाउँदा खुसी लागेको प्रतिक्रिया जनाइन्। ‘छोरीले समयमा अस्पताल लगेकी हुनाले म बाँचेकी हुँ। मसँग ऊबेला सुकामानो घ्यू खाएको बल रहेछ’, उनले भनिन्, ‘त्यही भएर आज म सय वर्षकी वृद्धासँग पनि कोरोना भाइरसले हार्यो, मैले जितेँ।’
उनलाई छोरीले अस्पताल ल्याउँदा भने निको भएर घर फर्कन्छु भन्ने लागेको रहेनछ। ‘तर, डाक्टर सा’बहरूको सहायताले म बाँचँें। सय वर्षमा पनि मलाई बचाउने उहाँहरू (डाक्टर) लाखलाख वर्ष बाँचिरहुन मेरो शुभकामना छ’, उनले भनिन्।
वृद्धाकी छोरी निर्मला बस्नेतले सुरुमा केही स्वास्थ्य समस्या देखिए पनि अस्पताल भर्ना भएपछि धेरै समस्या नदेखिएको बताइन्। परिवारका सदस्य चिन्तित भए पनि आमाले चिन्ता नलिएको उनको भनाइ छ। ‘आमाको आत्मबलले नै कोरोनालाई पराजित गर्न सहज भयो’, उनले भनिन्।
सिन्धुली अस्पतालका प्रवक्ता डा. सागर देवकोटाले मंगलबार पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि बुधबार घर फर्काइएको बताए। वृद्धाको स्वास्थ्य अवस्था सामान्य छ। ‘वृद्धामा अक्सिनको मात्रा निकै कम थियो। ज्वरो पनि थियो। सुरुमा हामीले निकै कठिन होला भन्ने ठानेका थियौं’, प्रवक्ता डा. देवकोटाले भने, ‘तर, उहाँले सय वर्षको उमेरमा पनि सहजै रूपमा कोभिड जित्नु भएर हामीमा थप उत्साह र हौसला प्रदान गर्नुभयो।’
वृद्धालाई हाई फ्लो अक्सिजन दिएर उपचार थालिएको थियो। तर, क्रमिक रूपमा स्वास्थ्यमा सुधार भई उच्च आत्मबलका कारण कोरोना भाइरसलाई जित्न सफल भएको डा. देवकोटाको भनाइ छ।
सय वर्षको उमेरमा पनि सहजै कोरोना भाइरसलाई जितेपछि बुधबार वृद्धासँग समितिका अध्यक्ष पोखरेल, डाक्टर र नर्सले आशीर्वाद लिएर अस्पतालबाट बिदाइ गरेका हुन्। सय वर्षकी वृद्धाले एक सातामै कोरोना जितेर घर फर्किँदा आफू अत्यन्तै हर्षित भएको अध्यक्ष पोखरेलले बताए। सिन्धुलीमा हालसम्म १ हजार ३ सय ८१ जना संक्रमितमध्ये २ सय ६४ जना निको भएका छन्। २५ जनाको मृत्यु भएको छ।