बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि आज उपनिर्वाचन हुँदैछ । हेटौँडा–४ स्थित भुटनदेवी माविमा मतदान हुने मतदान बिहान ९ बजेदेखि ३ बजेसम्म हुनेछ । उपनिर्वाचनका लागि नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा डा. खिमलाल देवकोटा चुनावी प्रतिस्पर्धामा छन् ।

देवकोटालाई एमालेकै खनाल–नेपाल समूहकोसमेत समर्थन छ । एमालेले भने आधिकारिक उम्मेद्वारा बादल नै भएको भन्दै ह्वीप जारी गरेको छ । तर, गोप्य मतदान हुने भएकोले ह्वीपको खासै अर्थ भने छैन । राष्ट्रिय सभा निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ पनि उम्मेदवार छन् । तर, मुख्य प्रतिस्पर्धा थापा र देवकोटाबिच नै हुनेछ ।

पहिले बागमतीमा मतदाताको अङ्क गणित हेरौँ । निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने पाउने उपनिर्वाचनमा ३४८ जनाले मतदान गर्नेछन् । बागमती प्रदेशसभा सदस्य ११० जना र प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन् । प्रदेश सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख निर्वाचनका लागि मतदाता हुन् । मतदातामध्ये एक प्रदेश सांसदको ४८ र स्थानीय तहका एक प्रतिनिधिको १८ मतभार हुन्छ । बागमती प्रदेश सभामा ११० सांसदको ५ हजार २८० र ११९ स्थानीय तहका २३८ प्रतिनिधिको ४ हजार २८४ गरी जम्मा ९ हजार ५६४ मतभार छ ।

यसमध्ये सबैभन्दा बढी एमालेका जनप्रतिनिधि छन् । प्रदेश सभामा ५६ (एकजना सांसद पशुपति चौलागाईंको निधन) र स्थानीय तहमा १३३ जना गरी १८९ मतदाता छन् । यसको कुल मतभार पाँच हजार ८२ हुन्छ । यो जोड्दा बाँकी सबै दल मिले पनि एमालेको उम्मेदवार हराउन सम्भव छैन । तर, एमाले एकमत हुनेमा निश्चित छैन ।

काँग्रेसका प्रदेश सभामा २२ र स्थानीय तहमा ६८ जना गरी ९० जना मतदाता छन् । जसको कुल मतभार २ हजार २८० हुन्छ । त्यस्तै, माओवादीको प्रदेश सभामा २३ र स्थानीय तहमा ३३ जना गरी ५६ जना मतदाता छन् । जसको कुल मतभार १ हजार ६९८ हुन्छ । काँग्रेस र माओवादीको जोड्दा ३ हजार ९७८ मतभार हुन आउँछ ।

प्रदेशमा एमालेकै खनाल–नेपाल समूहका कम्तीमा २२ सांसद र लगभग ४० स्थानीय प्रतिनिधि गरी ६० आसपास मतदाता छन् । यसको अर्थ खनाल–नेपाल पक्षसँग करिब १ हजार ७ सय मतभार छ । राप्रपा (१३२ मत) ले बादललाई मत दिने निर्णय गरेको छ भने नेमकिपा (१३२ मत) ले आफ्नै उम्मेदवार खडा गरेको छ ।

एमाले भित्रको पछिल्लो समीकरण पछि नेपाल पक्ष मौन रहेको छ । अर्थात् उसले मतदातालाई स्वविवेक प्रयोग गर्न भनेको छ । तर, स्मरणीय के छ भने देवकोटा माधव नेपालको समर्थनमा उम्मेदवार बनेका हुन् । खनाल–नेपाल पक्षका मतदाताले देवकोटालाई मत दिँदा थापालाई जित्न सहज छैन । जित्नका लागि पाँच हजार आसपास मतभार ल्याउनुपर्छ । तर, एमालेकै खनाल–नेपाल समूहले साथ नदिँदा त्यो पुग्ने देखिँदैन ।

राष्ट्रियसभा सदस्यका निम्ति बादलले प्रतिस्पर्धा गरिरहेको स्थान उनकै कारण रिक्त भएको हो । माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेपछि गएको ५ वैशाखमा मात्रै बादल पदमुक्त भएका थिए । एमालेले फेरि उनलाई नै उम्मेदवार बनायो । अर्थात् पहिले सहजै जितेको र आफ्नै कारणले रिक्त भएको स्थानमा निर्वाचित हुन बादल मैदानमा छन् । त्यसैले बालका लागि यो अर्को अग्नि परीक्षा हो । अर्को कुरा माओवादी छोडेर एमाले बनेका बादललाई वर्षैदेखि एमालेमै योगदान गरेको जनप्रतिनिधिको विश्वास जित्नु छ ।

पटक पटक विभाजनको डिलबाट जोगिँदै आएको एमालेका लागि यो उपनिर्वाचन फेरि अर्को टर्निङ प्वाइन्ट हुनसक्छ । यो निर्वाचन एमालेका लागि पनि परीक्षा नै हो । खनाल–नेपाल पक्षले मत नदिँदा बादलले जित्ने सम्भावना एकदमै न्यून छ । सँगसँगै यसले विवाद समाधानका लागि बनेको कार्यदल र पछिल्लो समय जारी छलफललाई पनि प्रभावित गर्नेछ । यो निर्वाचनको मत परिणाम पश्चात् एमाले विवाद नयाँ मोडमा टर्निङ हुनेछ ।