जेसीआई रामनगर वर्ष २०२१ ले सुनवल नगरपालिकाले निर्माण गरेको अस्थायी कोरोना अस्पताल (आइसोलेशन सेन्टर) लाई बुधबार १० वटा अक्सिजन सिलिण्डर प्रदान गरेको छ । जेसीआई रामनगर वर्ष २०२१ का अध्यक्ष जेसि देवीकला शर्मा र जेसीआई रामनगरका संस्थापक अध्यक्ष जेसी डोलराज भण्डारीले संयुक्त रुपमा सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापा क्षेत्रीलाई आइसोलेशन सेन्टरमा पुगेर सो अक्सिजन सिलिण्डर प्रदान गरेका हुन् ।

पछिल्लो समय नवलपरासी जिल्लामा पनि अक्सिजन अभावमा कोरोना संक्रमितको मृत्युदर बढ्दै गएपछि संक्रमितको उपचारमा सघाउ हुने उद्देश्यले नगरपालिकालाई अक्सिजन सिलिण्डर उपलब्ध गराएको जेसीआई रामनगरका अध्यक्ष देवीकला शर्माले बताइन् ।

सुनवल नगरपालिकाले नगरभित्रका कोरोना संक्रमितको उपचारका लागि जिल्लामै पहिलो पटक १० शैयाकोको मिनि आइसीयू सेवा (एचडीयू) र २० शैयाको अक्सिजनसहितको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ । उक्त आइसोलेशन सेन्टरमा बुधबारसम्म १२ जना कोरोना सक्रमितको उपचार भइरहेको छ ।

सुनवलमा हालसम्म १ हजार ५५ जना कोरोना संक्रमित रहेकोमा सक्रिय संक्रमितको संख्या ४ सय ४८ छ भने ३२ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय नवलपरासीको तथ्यांकमा उल्लेख छ ।

नगरपालिकाका जनप्रतिनिधिले कोरोना संक्रमितको उपचारका लागि घर–घरमा पुगि अक्सिजन सिलिण्डर प्रदान गर्दै उदाहरणीय कार्य गर्दै आइरहेका छन् ।