कोरोना महामारीमा योद्धाझैँ अडिग रहेर बिरामीको सेवा गर्ने चिकित्सक बिरामीका आफन्तद्वारा अस्पतालमै कुटिए । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट मेडिकल शिक्षण अस्पतालका दुई चिकित्सकसहित चार जना स्वास्थ्यकर्मी सोमबार राति चार जनाको एउटा समूहद्वारा कुटिएका हुन् ।

सोमबार राति ८ बजे विराटको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि बूढीगङ्गा–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहित स्थानीय चार जना युवकको आक्रमणको सिकार बने । सोही झगडाका कारण अस्पतालमा उपचाररत एक चिकित्सकको निधन भएको अस्पतालले दाबी गरेको छ ।

अस्पतालका संयोजक डा. सुनिल देवले सो झगडाका कारण सिरहाको लहान नगरपालिका–१५ घर भइ लहान अस्पतालमा कार्यरत डा. मुकेश चौधरीको निधन भएको दाबी गरेका हुन् । ३८ वर्षीय चौधरी अर्थोपेडिक्स डाक्टर हुन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण तथा श्वासप्रस्वासमा समस्या आएपछि उनी विराट अस्पताल भर्ना भएका थिए ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि वैशाख २५ गतेदेखि उनी होम आइसोलेसनमा बसेका थिए । तर सोमबार साँझ एक्कासि सास फेर्न गाह्रो भएपछि उनी थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम भर्ना भएका थिए ।

उनका साथ श्रीमती पनि थिइन् । उनकी श्रीमती पनि स्वास्थ्यकर्मी नै हुन् । बिरामीका आफन्तद्वारा कुटिएका डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेत उनकै उपचारमा तल्लीन थिए । अक्सिजनको सहारामा सास लिइरहेका डा. चौधरीको पिसिआर परीक्षण हुने तरखरमा थिए । त्यतिबेलै दुर्घटनामा परेर गम्भीर घाइते भएका दुई जनालाई अस्पताल ल्याइएको थियो ।

बूढीगङ्गा गाउँपालिका–३ गोकुवा चोकमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ५० वर्षीय बालकुमार बस्नेत र मोटरसाइकल चालक इटहरी–७ का २५ वर्षीय समराज्य चौधरी घाइते भएपछि उनीहरूलाई विराटमै उपचारका लागि ल्याइएको थियो ।

सोमबार बेलुका पौने ८ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र१–०२–०४५ प ६०८७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका बस्नेतको राति ९ बजे उपचारका क्रममा मृत्यु भयो । ती दुवै चिकित्सक डा. चौधरी र घाइते अवस्थाका दुवै जनालाई उपचार गर्नमा तल्लीन देखिए । त्यतिकैमा दुई युवा बाहिर सुरक्षागार्ड र स्वास्थ्यकर्मीलाई लछारपछार पार्दै इमर्जेन्सी वार्डमा छिरे र गालीगलौच गर्दै चिकित्सकमाति हातपातमा उत्रिए ।
सिकिस्त अवस्थामा रहेका तीन जनाको उपचार गर्दैगरेका चिकित्सकलाई आक्रमण भएपछि गम्भीर अवस्थाका बिरामीले केही बेर उपचारसमेत पाउन सकेनन् । र, झगडा सुरु भएको दस मिनेटभित्रै डा. मुकेसले प्राण त्यागे र त्यसको केही समयपछि दुर्घटनाका घाइतेले ज्यान गुमाए ।

‘यता, झगडा हुँदैगर्दा डा. मुकेशलाई उनकै श्रीमतीले पिसिआरका लागि प्रयास गर्दैहुनुहुन्थ्यो’, देवले केटिएम दैनिकसँग भने, ‘तर पिसिआर एक्लैले सम्भव थिएन । चिकित्सकलाई भिजिटरले लछारपटार पार्दैगर्दा उहाँको निधन भयो । सायद झगडा नभएको भए उहाँ आज जिवितै हुनुहुन्थ्यो । झगडाले गर्दा नै उहाँको प्राण गयो ।’

निश्चल र अनिल आफ्नी हजुरआमा ७३ वर्षीया गोमादेवी श्रेष्ठको उपचारका लागि विराट आएका थिए । सुगरबाट पीडित उनलाई रिंगटा चल्ने, पेट दुख्ने र टाउको दुख्ने भएपछि अस्पताल ल्याइएको थियो । बूढीगङ्गा–२ की वृद्धा गोमादेवीको उपचारमा पाँच मिनेटमात्र ढिलाइ हुँदा पनि उनीहरूले आकस्मिक कक्षमा छिरेर गालीगलौच गरी कुटपिट गरेको देवको भनाइ छ ।

घटनाको केही समयपछि नै निश्चल र अनिललाई प्रहरीले पक्राउ गर्यो । अरू दुई जना फरार रहेको जिल्ला प्रहरी मोरङका प्रहरी प्रवक्ता तथा डिएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार फरार दुई जनाको खोजी कार्य तीव्र पारिएको छ ।

आक्रमणबाट चिकित्सक सामान्य घाइते

आक्रमणबाट डा. रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ । यस्तै अस्पतालका सुरक्षाकर्मी विशाल राई र सफाइकर्मीलाई समेत सामान्य चोट लागेको संयोजक देवले बताए । ‘हामीले बिरामीको उपचारमा अहोरात्र खटिनेहरूमाथि आक्रमण गर्नेलाई पक्राउ गरेर कारवाही गर्न प्रहरीलाई भनेका छौँ’, उनले भने ।

को हुन् डा. मुकेश ?

चीनमा एमबीबीएस पढेका डा. चौधरी लहान नगरपालिका–१५ ढोढनाका स्थायी बासिन्दा हुन् । ३५ वर्षीय चिकित्सक चौधरीले गण्डकी मेडिकल कलेज, कन्काई हस्पिटल प्रालि, नोबेल मेडिकल कलेज, विराट नर्सिङ होममा काम गरिसकेका थिए । पछिल्लो समय उनले लहान पोलिक्लिनिक तथा डाइग्नोष्टिक सेन्टर सञ्चालन गरेका थिए ।

हाडजोर्नी विशेषज्ञ भएपनि उनी कोरोना महामारीको समयमा कोभिड–१९ का बिरामीको उपचारमा संलग्न थिए । पछिल्लो समय उनले सरकारी र निजी अस्पतालमा खटिएर कोभिडका बिरामीहरूको उपचार गर्दै आइरहेका थिए ।
लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवका अनुसार डा. चौधरीको मृत्युपछि एन्टिजेन परीक्षण गरिएको थियो । रिपोर्ट भने नेगेटिभ आएको छ । यादवका अनुसार आफैँ चिकित्सक भएका कारण उनले घरमै बसेर औषधि सेवन गरिरहेका थिए । तर उनले कोरोना परीक्षण गराएका थिएनन् ।

विराटमा उपचारका क्रममा निधन भएपछि मुकेशको शव घर श्रीमतीले सोही राति घर लिएर गएकी थिइन् ।