काठमाडौं । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदको लागि मतदान हुँदैछ। रिक्त पदमा मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित भुटनदेवी माविमा आज उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचनमा एमालेबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल उमेदवार रहेका छन् । त्यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) विपक्षी गठबन्धनबाट डा.खिमलाल देवकोटा उमेदवार छन् ।
नेपाल मजदुर किसान पार्टीले कृष्णबहादुर तामाङलाई उमेदवार बनाएको भने राष्ट्रिय प्रजातन्त्र पार्टी एमालेका उमेदवार थापा र राष्ट्रिय जनमोर्चाले गठबन्धनका उमेदवार देवकोटालाई सघाउने घोषणा गरेको छ ।
निर्वाचन आयोगले मतदान समय बिहान ९ बजेदेखि ३ बजेका लागि तोकेको छ । निर्वाचनका लागि तीनवटा केन्द्र तोकिएका छन् ।
उपनिर्वाचनमा वाग्मती प्रदेश सभा सदस्य ११० जना र १३ जिल्लाका ११९ स्थानीय तह गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी जम्मा ३४८ मतदाता छन् ।