गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ । दोश्रो पटक मुख्यमन्त्री भएका पृथ्वी सुब्बा गुरुङले मन्त्री परिषद गठन गरेसँगै बुधबार बसेको पहिलो बैठकले सो अस्पताललाई कोभिड अस्पताल बनाउन संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

संघ सरकार मातहत रहेको सो अस्पताललाई अघिल्लो वर्ष कोभिड डेडिकेटेड अस्पताल बनाइएको थियो । तर कोरोना संक्रमणले महामारीको रुप लिएपछि प्रदेश सरकारले अस्पताललाई कोरोना भाइरस रोकथाम नियन्त्रण र उपचारको अस्पताल बनाउने निर्णय गरेको मुख्यमन्त्री मन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ । उनका अनुसार यसअघी कोरोनाका विरामीसँगै अन्य विरामीको पनि उपचार गरिदै आएको सो अस्पतालमा अब कोरोनाका विरामीको मात्र उपचार गरिनेछ । तर यसका लागि प्रदेश सरकारको सिफरिसलाई संघ सरकारले निर्णय गरेर पठाउनु पर्नेछ । संघ सरकारले पनि निर्णय गरेर सो अस्पताललाई कोभिड अस्पताल बनाएमा अन्य विरामी मर्कामा पर्नेछन् । किनकी त्यहाँ सामान्य अवस्थामा दैनिक ४ हजार बढी उपचारका लागि आउने गर्छन् ।