२०७९ जेष्ठ १३ गते शुक्रवार

लकडाउनमा मौलायो सेयर बजार, अनलाइन लिनेको लर्को


काठमाण्डौ । कोभिड १९ को दोश्रो लहर तीव्र बनेर जनजीवन अस्तव्यस्त बनेसँगै लगानीका अन्य क्षेत्र सुस्ताएका छन् । आर्थिक गतिविधि ठप्प हुँदा समेत सेयर बजार भने खुलिरहेको छ । बुद्धिमतापूर्वक लगानी गर्नेहरुले निषेधाज्ञा अवधिमा घरमै बसेर लाखौं कमाउने सुअवसर पाइरहेका छन् । 

सेयर बजारप्रतिको सर्वसाधारणको यस्तै आकर्षण तथ्यांकमा पनि देखिएको छ। बजार हराभरा बन्दै गएपछि र राम्रो रिटर्न समेत प्राप्त हुने अवस्था बनेपछि डिम्याट खाता खोल्ने र नेप्सेको अनलाइन कारोबार प्रणालीको यूजर नेम र पासवर्ड लिने लगानीकर्ताहरुको संख्या ह्वात्तै बढेको छ ।

सिडिएस एण्ड क्लियरिंग लिमीटेडका अनुसार सेयर बजारतर्फको आकर्षणका कारण हालसम्म डिम्याट खाता खोल्नेको कुल संख्या बढेर ३५ लाख ३५ हजार २४८ पुगिसकेको छ ।

एकातिर सेयर जम्मा हुने डिम्याट खाता खोल्नेको संख्या बढिरहेको छ भने अर्कोतर्फ दोश्रो बजारमा प्रवेश गरेर सेयर किनबेच गर्नेहरुको संख्यामा समेत उस्तै वृद्धि देखिन्छ । अनलाइन यूजरहरुको संख्या ६ लाख बढी हुनुले समेत यो कुरा पुष्टि गर्दछ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार जेठ ४ गतेसम्ममा अनलाइनबाट सेयर कारोबार गर्नका लागि ६ लाख भन्दा बढीले यूजर नेम र पासवर्ड लिएका छन् ।
पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको सफल कार्यान्वयनकै कारण निषेधाज्ञाका बीच समेत घरमै बसेर लगानीकर्ताले कारोबार गर्न सकिरहेका छन् । यो सहजता र आगामी दिनमा निषेधाज्ञा समेत अझै बढ्ने र लगानीका अन्य क्षेत्र तत्काल जाग्ने अवस्था नरहेकोले सेयर बजारमै थप आकर्षण बढ्नसक्ने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद बताउँछन् ।

सेयर बजारमा तीव्र सुधार गरिएका कारण कारोबार सहज भएको र कोभिड संक्रमणपछि सुस्त बनेका अन्य क्षेत्रका लगानी समेत बजारमै केन्द्रीत भएकै कारण नेप्सेमा चाँडै दैनिक कारोबार रकम २० अर्ब माथि पुग्ने उनले प्रक्षेपण गर्दै आएका छन् । आज नै १२ अर्ब हाराहारीमा सेयर किनबेच भइसकेको छ । डिम्याट खाता खोल्ने, दोश्रो बजारमा प्रवेश गरी सेयर कारोबार गर्ने र अनलाइन यूजर नेम र पासवर्ड लिनेहरुको बढोत्तरी यही गतिमा हुने हो भने साउदले भनेजस्तो दैनिक २० अर्ब रुपैयाँको सेयर कारोबार हुने दिन आउन धेरै कुरिरहनुपर्ने अवस्था देखिन्न ।

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार
प्रतिक्रिया