कोरोना संङ्क्रमितको उपचारका लागि सिलिन्डर र अक्सिजनको अभावलाई मध्यनजर गर्दै हाँस्य कलाकार राजाराम पौडेलले १ लाख सहयोग गरेका छन्। उनले अक्सिजन जोहोमा लागि भन्दै महावीर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई उक्त रकम प्रदान गरेका हुन् ।
पौडेलले पुनलाई सम्पर्क गरेर आफू पनि आम जनता बचाउने अभियानमा सहयोगी बन्ने भन्दै उक्त रकम आविस्कार केन्द्रको बैंक खातामा जम्मा गरिदिएका हुन् । जसको जानकारी पौडेलले सामाजिक सञ्जाल मार्फत दिएका छन् ।
‘कोरोनाको कारण धेरै नेपाली दाजुभाइ, दिदीबहिनीहरुले ज्यान गुमाइरहनु भएको छ । पैसाको कारण भन्दा पनि अक्सिजन नपाएको कारणले धेरैको ज्यान गइरहेको छ’ पौडेलले अगाडि लेखेका छन्, ‘मस्तिष्कमा लाग्यो पैसाले स्वास फेर्न सकिँदो रहेनछ, स्वास फेर्न अक्सिजन नै चाहिंदो रहेछ। त्यसैले अक्सिजनको व्यबस्था गर्न बिस्वासिलो र आफ्नो सम्पूर्ण जीवन समाज सेवामा अर्पण गर्नू भएका डा. महावीर पुनको संस्था ‘राष्ट्रिय आविस्कार केन्द्र’ लाई आफूले सकेको सहयोग अर्पण गरेको छु ।’
पौडेलका अनुसार पछिल्लो हप्ता आफ्ना छोरा बुहारीमा कोरोना देखिएका कारण धेरै समस्या भोगेको भन्दै यो महोलमा सवै कलाकारहरुले फिल्डमा उत्रिएर सहयोग गरिरहेका संघ संस्थालाई सकेको आर्थिक सहयोग गर्न अपिल पनि गरेका छन् ।