जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रहेका गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मत दिने निर्णय गरेको छ।

बादललाई मत दिन नेकपा एमालेबाट पार्टीलाई औपचारिक पत्र प्राप्त भएकोले मत दिनेबारे निर्णय भएको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए ।

बादल बागमती प्रदेशमा २०७४ सालमा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट बिजयी भएका थिए ।

एमाले प्रवेशसँगै उहाालाई माओवादीले कारवाही गरेपछि पद रिक्त भएको थियो। माओवादी, नेपाली कांग्रेसलगायतको समर्थनमा खिमलाल देवकोटा विपक्षी गठबन्धनबाट उम्मेदवार छन् ।

यही जेठ ६ गते हुने उपनिर्वाचनमा राप्रपाका तर्फबाट प्रदेशसभा सदस्य दुई र स्थानीय तहका दुई जना प्रतिनिधि मतदाता छन् ।

सोहीअनुरुप आफ्नो उम्मेदवारलाई मतदान गरी सहयोग गर्नका लागि नेपाल कम्युनिस्ट (एमाले) बाट अनुरोधसहितको पत्र प्राप्त भएपछि राप्रपाले एमालेका उम्मेद्वारलाई मतदान गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफना पार्टीबाट निर्वाचित प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई नेकपा (एमाले) का उम्मेदवार रामबहादुर थापाको पक्षमा मतदान गर्न जानकारी गराउने निर्णय गरेको छ । बागमती प्रदेशमा जेठ ६ गते उपनिर्वाचन हुँदैछ ।

जसमा राप्रपाको मत मूल्य १३२ छ । बादल अहिले एमाले पार्टीमा छन् । एमालेले रिक्त सो पदमा उनैलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रले डा. खिमलाल देवकोटालाई अघि सारेको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट कृष्णबहादुर तामाङ उम्मेद्वार छन् ।