काठमाडौं । जनता समाजवादी दलका अध्यक्ष उपेन्द्र यादव र नेता डा.बाबुराम भट्टराईको दबाबमा पदमुक्त गरिएका ४ प्रदेश सांसदलाई पदमा बहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि पार्टीको निर्देशन विपरित भन्दै यादव र भट्टराई पक्षले उनीहरुलाई पदमुक्त गर्न लुम्बिनी प्रदेश सचिवालयलाई पत्र काटेको थियो।
सोही सिपारिसको आधारमा उनीहरु पदमुक्त भएपनि जसपाको अर्केा पक्ष महन्त ठाकुर र राजेन्द्र महतोले विरोध जनाएका थिए।
सोही मुद्धामा सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज जसपाबाट निर्वाचित चार सांसदलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय संविधान र कानूनसम्मत नभएको ठहर गर्दै पुनर्वहालीको आदेश दिएको हो।
जसपाको उपेन्द्र यादव पक्षले गरेको एकपक्षीय कारवाहीका आधारमा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले सन्तोष पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट वैशाख १७ गते पदमुक्त गरेका थिए।